राज्यमन्त्री वलीविरुद्ध जाहेरी, रिहा गर्न मुख्यमन्त्रीको दबाव

३१ जेष्ठ २०७९

३१ जेठ,स्वच्छखबर।आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका(५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जनबहादुर स्वाँरले जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए ।

मंगलबार विहान तुलसीपुर नगरपालिका ५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्र वलीले बस्नेतको खोजी गर्दै उनकी पत्नी मीना भण्डारी र छोरीलाई हातपात गरेको पीडित पक्षको भनाइ छ ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको थियो । यता, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई छोड्न भन्दै मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् ।

स्रोतका अनुसार बारम्बार प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर छाड्नका लागि दबाव दिइरहेका छन् । राज्यमन्त्री वलिविरुद्ध जाहेरी परेकाले प्रहरीले भने छोड्न मानेको छैन । अहिले राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमै राखिएको प्रहरीले बताएको छ ।

सम्बाददाताः मोतीलाल भारती