संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न राष्ट्रिय सभाको निर्देशन

१९ जेष्ठ २०७९, बिहीबार ११:३४

१९ जेठ,स्वच्छखबर,काठमाडौं । राष्ट्रिय सभाले संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

उनले भने, ‘राष्ट्रिय सभाबाट स्वीकृत संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देशन गर्दछ ।’

तिमिल्सिनाले सदस्य देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपार्ईँ, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराएको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार १ बजे बस्नेछ । राष्ट्रिय सभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरुले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।

सम्बाददाताः मोतीलाल भारती

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.