काठमाडौं महानगरको बजेट पारित

२४ असार २०७९

२४ असार,स्वच्छखबर,काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।

वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए । यस्तै बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।

तीन वटा वडाका लागि एकजना मात्रै इन्जिनियर खटाएको प्रति असन्तुष्ट व्यक्त गर्दै नगरसभा सदस्यहरुले प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका थिए ।

मेयर साहले दलित शब्द राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । बजेट र कार्यक्रम नपरेको भए १२ वटा विषगयत समितिका संयोजकलाई जानकारी दिन साहले आग्रह गरेका थिए । विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ । १७ असारमा महानगरले आर्थिक विधेयक सर्वसम्मत पारित गरेको थियो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरुमा छलफल भएको थियो । छलफलमा उठेका प्रस्तावहरुसंशोधन सहित समावेश गर्ने प्रतिबद्धता मेयर साहले व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको थियो ।

सम्बाददाताः मोतीलाल भारती