विज एयरले तत्काल गौतमबुद्ध विमानस्थलमा उडान नगर्ने

१३ कार्तिक २०७९

१३ कात्तिक, स्वच्छखबर,काठमाडौं । विज एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल उडान नगर्ने भएको छ । विजले थप एक महिना उडान गर्न नसक्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ ।

यसअघि ३० अक्टोबर २०२२ देखि उडान गर्ने भन्दै विज एयरले टिकेटिङ र मार्केटिङको अनुमति पाएको थियो । तर, उसले पूर्वनिर्धारित तालिकाअनुसार उडान गरेन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विजले एक महिना थप समय मागेको छ । विजले भैरहवा विमानस्थलको सेफ्टी एसिसमेन्ट गरिसकेको र त्यसको रिपोर्ट नआएको बताएको भुलले बताए । ‘एक महिनापछि विजले उडान गर्छ भन्ने विश्वास छ’ उनले भने ।

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले मात्रै उडान गरिरहेको छ । प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।