गोल्डेन ह्यान्डसेकको आवेदन दिने समय थप

१५ माघ २०७९

१५ माघ, स्वच्छखबर,काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखाको शिक्षक व्यवस्थापन समन्वय शाखाले अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन छुट भएका शिक्षकहरुका लागि निवेदन पेश गर्ने समय थपेको छ ।

शाखाले सेवाग्राहीको समस्या र मागलाई ध्यानमा राखेर अस्थायी शिक्षकले पाउने सेवा सुविधाको लागि निवेदन पेस गर्ने अवधिको म्याद माघ मसान्तसम्म थप गरिएको जनाएको छ ।

शाखाले पुस १६ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेसम्म आवेदन दिन सूचित गरेको थियो ।

राष्ट्रिय किताबखाना (शिक्षक) को नियमानुसार अन्तिम पटक म्याद थप गरिएकोले सम्बन्धित सबैले सोही अनुसार आवेदन दिन शाखा अधिकृत रामबहादुर अधिकारीले अनुरोध गरेका छन् ।