ट्वीटरमा निलो टिको हुनेहरुले १ घण्टाको भिडियो अपलोड गर्नसक्ने

१७ माघ २०७९

१७ माघ,स्वच्छखबर,काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा निलो टिको हुने प्रयोगकर्ताहरुले १ घण्टासम्मको भिडियो अपलोड गर्नसक्ने भएका छन् ।

अबदेखि अधिकतम ६० मिनेटसम्मको, १०८० पिक्सेल रिजोलुसन र २ गिगाबाइट आकारसम्मको भिडियो ट्वीटरमा अपलोड गर्न सक्ने भएका हुन् । ट्वीटर ब्लू पेजमा उल्लेख भए अनुसार यो सुविधा ट्वीटरको वेब भर्सनमा उपलब्ध हुनेछ ।

यसअघि ट्वीटर ब्लू सब्सक्राइबरहरुलाई १० मिनेटसम्म लामो, १०८० पिक्सेल र ५१२ मेगाबाइट सम्मको भिडियो अपलोड गर्नसक्ने सुविधा थियो । अहिले ट्वीटरको वेब भर्सनमा १ घण्टासम्मको भिडियो अपलोड गर्न सकिने सुविधा सुरु भए पनि एन्ड्रोइड र आइओएस प्लाटफर्ममा ट्वीटर ब्लू चलाउनुहुन्छ भने १० मिनेटको पावन्दी नै लागू हुनेछ ।

ट्वीटरको प्लाटफर्ममा भिडियोको गुणस्तरलाई उच्च बनाउनका लागि अथक मेहेनत गरिरहेको पनि ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘हाम्रो प्लाटफर्ममा अपलोड हुने सबै भिडियोमा सबैभन्दा उच्च भिडियो क्वालिटी कायम गर्ने प्रयास हामीले गर्दछौँ । तथापि तपाइँहरुको ओरिजिनल भिडियोलाई हामी तथा हाम्रो साझेदारद्वारा वितरण, प्रकाशन, प्रशारण गर्ने क्रममा विभिन्न मिडियामा मिल्ने गरी तथा दर्शकको इन्टरनेट कनेक्सनको गति तथा स्थिरताको आधारमा स्ट्रिमिङ हुनका लागि भिडियोको रिजोलुसन लगायतका कुरालाई परिवर्तन गर्ने तथा अनुकुलित गराउने गर्न सकिन्छ ।’

प्लाटफर्ममा लामो आकारका भिडियोहरु अपलोड गर्ने सुविधा प्रदान गरेसँगै ट्वीटरले पाइरेसीको चुनौतिसमेत सामना गर्नुपर्नेछ । प्रयोगकर्ताहरुले पूरै फिल्म तथा टेलिभिजन शो नै अपलोड गर्न सक्छन् र ट्वीटरका मोडेरेटर तथा अटोमेटेड सिस्टमले त्यस्ता सामग्री हटाउनका लागि तुरुन्तै सम्बन्धित प्रयोगकर्तालाई सूचना दिनुपर्नेछ । गत महिना ट्वीटरको कपिराइट सिस्टमले केही समय काम नगरेको बेला प्रयोगकर्ताहरुले टुक्रा टुक्रा पारेर पूरै फिल्म नै ट्वीटरमा अपलोड गरेका थिए । ६० मिनेटको भिडियो पोष्ट गर्न सकिने नयाँ सुविधाले त्यस्ता कामलाई दुरुत्साहित गर्नेछ ।

साथै त्यस्ता भिडियोहरुलाई मनिटाइज गर्ने विषय पनि रहनेछ । युट्युबले लामो भिडियोहरुमा विज्ञापन देखाउँछ र त्यसको आम्दानी सम्बन्धित भिडियो सर्जकलाई पनि बाँड्छ । ट्वीटरले आफ्नो प्लाटफर्ममा अपलोड गरिने भिडियोलाई मनिटाइज गर्ने योजना बनाएको छ कि छैन भन्ने बारेमा चाहीँ खुलेको छैन ।

ट्वीटरले ब्लू प्रयोगकर्ताका प्रयोगकर्ताहरुलाई रिप्लाइमा समेत प्राथमिकता दिनेछ । अर्थात् ब्लू टिकधारीले ट्वीटरमा गरेको रिप्लाइ अन्य आम प्रयोगकर्ताको रिप्लाइभन्दा माथि देखिनेछ ।

ट्वीटरले यो महिनाको सुरुमा ट्वीटर ब्लू पुनः सुरुवात गरेको हो । यसअघि नोभेम्बरमा पहिलोपटक सुरुवात गरिएको ट्वीटर ब्लू सब्सक्रिप्सन विभिन्न दुरुपयोगको विवादका कारण रोकिएको थियो । अहिले आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताले ट्वीटर ब्लू सब्सक्राइब गर्नका लागि मासिक ११ डलर शुल्क तिर्नुपर्दछ भने वेब भर्सन प्रयोग गर्नेले मासिक ८ डलर तिर्नुपर्दछ ।

केहीदिन अघि मात्रै ट्वीटरले ब्लूफर बिजनेस कार्यक्रम सुरु गरेको छ । जस अन्तरगत कम्पनीहरुले आफ्ना ब्राण्ड तथा कामदारहरुको पहिचानका लागि अतिरिक्त ब्याचको प्रयोग गर्न सक्दछन् ।

– एजेन्सी