चन्द्रनगर गाउँपालिकामा योजना कार्यान्वयन अघि समन्वय गर्नुपर्ने

७ फाल्गुन २०७९, आईतवार १३:२७

७ फागुन, स्वच्छखबर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले प्रदेश, संघ वा दातृ निकायबाट योजना कार्यान्वयन गर्दा समन्वय गर्नु पर्ने नियम लगाएको छ ।

कुनै पनि निकायबाट हुने बजेट दुरुपयोग, गुणस्तरहीन काम गरी भ्रष्टाचार गर्ने जस्ता गतिविधि रोक्न पालिकाले गाउँसभाबाट यस्तो निर्णय नै गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले नगरसभाको निर्णय आइतबार मधेश प्रदेश सकरकारलाई जानकारी समेत गराएका छन् ।

गाउँपालिकाको पञ्च वर्षिय आवधिक योजना तयारी भई स्वीकृत भइसकेकाले अब प्रदेश सरकारले योजना तर्जुमा गर्दा, बजेट विनियोजन तथा त्यस्ता योजना कार्यान्वयन गराउनु पूर्व पालिकासित समन्वय गर्न पालिकाले अनुरोध गरेको हो ।

‘मधेश प्रदेश सरकारका विभिन्न निकायबाट यस चन्द्रनगर गाउँपालिका क्षेत्रको विकासको लागि आयोजनाको छनौट, योजना तर्जुमा र बजेट विनियोजिन गर्दा गाउँ कार्यपालिकाको कार्यालयलाई कुनै किसिमको समन्वय तथा सूचना आदान प्रदान नगरी नै गर्ने विगत र वर्तमानका अभ्यासमा निरन्तरता देखिएकोले र यस गाउँपालिकाको पञ्च वर्षिय आवधिक योजना तयारी भई स्वीकृत भई सकेको सन्दर्भमा यस गाउँपालिकाको लागि योजना तर्जुमा गर्दा, बजेट विनियोजन तथा त्यस्ता योजना कार्यान्वयन गराउनु पूर्व गाउँ कार्यपालिकाको कार्यालयसित समन्वयको लागि गाउँपालिकाको कार्यालयसित समन्वयको लागि चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको निर्णय अनुसार सादर अनुरोध छ’, अनुरोध पत्रमा लेखिएको छ ।

गाउँपालिकाको भौतिक, आर्थिक तथा मानव पुँजीको विकास गर्न प्रदेश सरकार, संघीय सरकार, सांसद विकास कोष, विकास साझेदार, निजी क्षेत्र लगायत बहुक्षेत्रीय र बहुपक्षीय सरोकारवालाहरुको लगानी, सहयोग र सहकार्यलाई चन्द्रनगर गाउँपालिका हृदयले स्वागत गर्ने बताउँदै त्यसका लागि समन्वय गर्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.