प्रचण्डसँग माओवादी सांसदको गुनासो : हाम्रो क्षेत्रमा बजेट खै ?

१६ जेष्ठ २०८०

१६ जेठ, स्वच्छखबर,काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।

दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटको समीक्षा र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश सांसदहरुले सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले पेश गरेको बजेटबारे धारणा राखेका थिए ।

उनीहरुले पार्टी सरकारमा हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सकिन्छ भन्ने आशा भए पनि सोचे अनुसार बजेट नपरेको गुनासो गरेका थिए । ‘मेरो क्षेत्रमा बजेट परेन, किन छुटे रु यस ढंगले पार्टीमा काम गर्न अप्ठ्यारो हुन्छ’ एक सांसदले आफूले बैठकमा राखेको गुनासोबारे अनलाइनखबरलाई भने ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संयुक्त सरकार भएकाले आफ्नो मात्र चाहना अनुसार बजेट नबन्ने बताएका थिए ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालका अनुसार सारमा बजेट राम्रो आएको पार्टी संसदीय दलको निष्कर्ष छ ।