प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

१७ जेष्ठ २०८०

१७ जेठ, स्वच्छखबर,काठमाडौंस्वच्छखबर । नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले पनि औपचारिक जानकारी दिएका छन् । उनले प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको तय गरेका हुन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत आएका हुन् ।

यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए ।

बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।