चीनमा अमेरिकी विदेशमन्त्रीले भने : ताइवान स्वतन्त्रताको पक्षमा छैनौं

४ असार २०८०

स्वच्छखबर ,एजेन्सी– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगर्ने बताएका छन् । ताइवानबारे पहिलोपल्ट अमेरिकाले यस्तो धारणा दिएको हो । यसअघिसम्म चीनबाट ताइवान स्वतन्त्र हुनुपर्ने अमेरिकी मान्यता थियो ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री ब्लिंकेनले भनेका छन्, ‘अमेरिकाले ताइवानको स्वतन्त्रतालाई सहयोग गर्दैन ।’ सँगसँगै उनले ताइवान लक्षित उत्तेजित चिनियाँ गतिविधि पनि स्वीकार्य नहुने बताएका छन् । ब्लिंकेनले ताइवान संकटमा परेमा आर्थिक संकटको स्थिति आउने र सिंगो विश्वलाई असर पर्ने पनि बताएका छन् ।

अमेरिकाले ताइवानमाथि बेइजिङको दाबीलाई पनि समर्थन गरेको छैन र ताइवानलाई छुट्टै स्वतन्त्र राज्य पनि स्वीकार नगर्ने नीति लिँदै आएको छ ।

ब्लिंकेनले आर्थिक क्षेत्रमा चीनलाई रोक्ने प्रयास अमेरिकाले नगर्ने बताएका छन् । चीनले बृहत् रूपमा आर्थिक सफलता हात पार्दा अमेरिकालाई पनि फाइदा पुग्ने भएकाले त्यसलाई रोक्ने चाहना नरहेको ब्लिंकेनको भनाइ छ ।

‘हाम्रो राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै प्रविधिका क्षेत्रमा केही प्रतिबन्ध लगाए पनि चीनलाई आर्थिक क्षेत्रमा अप्ठेरो पार्ने अमेरिकी नीति छैन । चीनले प्रगति गर्दा हामीलाई समेत फाइदा पुग्नेमा अमेरिका सचेत छ’, उनले भने ।

राष्ट्रपति सी र समकक्षी क्वीन गाङसँग लामो छलफल गरेका ब्लिंकेनले दुई मुलुकको सम्बन्धमा आएको चिसोपना सुधारका लागि दुवै पक्ष सकारात्मक रहेको ब्लिंकेनले बताएका छन् । ‘हामी दुवै चिसिएको सम्बन्ध सुधार गर्दै स्थिर कूटनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएका छौं’, पत्रकार सम्मेलनमा ब्लिंकेनले भनेका छन् ।

वार्तापछि चीनले अब रूसलाई हतियार सहयोग नगर्नेमा आफू ढुक्क रहेको उनले बताए । ‘अमेरिकाले रूसलाई हतियार नदिने प्रतिबद्धता वार्तामा बारम्बार खोजेको थियो । चीनले त्यसमा सहमति जनायो । यो निकै नै महत्वपूर्ण प्रतिबद्धता हो । अब उपरान्त चीनले रूसलाई हतियार सहयोग गर्ने छैन’, उनले भने ।

चीनसँग त्यहाँको मानवअधिकारको स्थितिबारे छलफल गरेको र लागूऔषध फेन्टानिलको अवैध कारोबार रोक्न पनि सहकार्यका लागि आग्रह गरेको उनले बताए ।

ब्लिंकेनसँगको भेटमा राष्ट्रपति सीले चीन र अमेरिकाबीचको सहकार्यले विश्वकै हित गर्ने भएकाले अवाञ्छित गतिविधि रोक्दै वास्तविक सहकार्य हुनुपर्ने बताएका छन् । ‘प्रतिस्पर्धाका नाममा हुने अवाञ्छित गतिविधि चीनलाई स्वीकार्य छैन । दुई मुलुकको सहकार्य विश्वकै हितमा रहेको कुरालाई ध्यानमा राख्दै आपसी सम्बन्ध अघि बढाउनुपर्छ’, सीको भनाइ उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

यस्तै चीनका पूर्व विदेशमन्त्री तथा उच्च तहका कूटनीतिज्ञ वाङ यीले पनि सम्बन्ध सुधारका लागि अमेरिकाले द्वन्द्व निम्त्याउने काम बन्द गर्नुपर्ने बताएका छन् । ‘सहकार्यको प्रस्ताव गरेर संवाद बन्द गर्ने र द्वन्द्व बढाउने अमेरिकी नीति नै स्थिर सम्बन्धको बाधक हो । अमेरिकाले सहकार्य र द्वन्द्वमध्ये एक रोजेर आउनुपर्छ’ ब्लिंकेनसँग राखेको भनाइ उद्धृत गर्दै सीसीटीभीले लेखेको छ ।