सुदूरपश्चिममा बजेट संशोधन गर्नुपर्ने कांग्रेस सांसदकै माग

२४ असार २०८०

२४ असार, स्वच्छखबर । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।

आइतबार कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकमा बजेटप्रति असन्तुष्ट प्रदेशसभा सदस्यहरुले संशोधनको मागसमेत गरे ।

एक प्रदेशसभा सदस्यका अनुसार सरकारले सांसदहरुको भूमिका नै कमजोर हुनेगरी असन्तुलित रुपमा बजेट ल्याएको भन्दै संशोधन गर्नुपर्ने माग उठेको हो । बैठकमा मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा बाहेकका १३ जना प्रदेशसभा सदस्यहरुले पालैपालो बोलेका थिए ।

त्यस क्रममा उनीहरुले बजेट संशोधन गरेर आफूहरुले दिएका सुुझाव कार्यान्वयन गर्न सरकार तयार हुनुपर्ने माग गरेका हुन् । सांसद ललिता सुनारले बैठबमा बजेटबारे धेरै गुनासा आएको बताइन् । ‘उहाँहरुले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो । बजेट मिलेको छैन । संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ’ उनले भनिन् ।

सांसदहरुका कुरा सुनेपछि मुख्यमन्त्री शाहले बजेटमा केही समस्या भएको स्वीकार गरे । ‘मुख्यमन्त्रीज्यूले बजेटको आकार घटेको, पुरानो दायित्व बढी भएको र क्रमागत योजनामा बजेट हाल्नुपर्ने बाध्यताका कारण सांसदहरुका माग सम्बोधन गर्न नसकिएको कुरा राख्नुभयो,’ एक सांसदले भने, ‘गठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गरेर के कसरी हुन्छ मिलाएर लैजान्छौँ भन्नुभएको छ ।’

कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले आइतबारको बैठकले सवारी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गरेको बताए ।

धामीले बैठक एजेन्डा शोक प्रस्ताव भएपनि अनौपचारिक रुपमा बजेटका विषयमा पनि छलफल भएको बताउँदै प्रदेशसभा सदस्यहरुले सन्तोषजनक नरहेको कुरा राखेको जानकारी दिए ।
‘साथीहरुको कुरा सरकारले अगामी वर्षका लागि ल्याएको बजेट सन्तोषजनक भएन भन्ने थियो,’ धामीले अनलाइनखबरसँग भने, ‘यो विषयमा अन्य दलहरुसँग पनि छलफल गरेर टुंगोमा पुग्दा राम्रो हुन्छ भन्ने सुझाव आएका छन् ।’

सुदूरपश्चिममा सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असन्तुष्ट सांसदहरुले शीर्ष नेताहरुलाई भेटेर बजेट संशोधन गर्नुपर्ने माग गरिसकेका छन् ।

प्रदेशसभाको बैठक अनिश्चित भएपछि सभामुख भीमबहादुर भण्डारीले सोमबार बिहान ९ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।