सुन प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न प्रतिपक्षीलाई केले रोक्यो ?

२३ श्रावण २०८०

२३ श्रावण, स्वच्छखबर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा एउटा निकायले छानविन गरिरहँदा पुनः अर्को समिति गठन गर्न आवश्यक नभएको प्रष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले छानबिन सकेपछि सो विषय उठाउन एमालेलाई आग्रह गरेका छन् ।

उनले भने–‘एकजना सर्जन डाक्टरले थिएटरभित्र गएर बिरामीको अप्रेसन गरिरहेको बेलामा अर्को डाक्टरले ढोका फोडेर भित्र गयो भने बिरामीको हालत के हुन्छ रु अहिले सम्बन्धित निकायले छानबिन दृढतापूर्वक अघि बढाइरहेको छ । सिद्धान्तत हामी संसदीय छानबिन समितिको विरोधी हैनौँ । तर छानबिन त भइरहेको छ नि । त्यसको निष्कर्ष आउँन्जेलसम्मको निम्ति धैर्यतापूर्वक बसेर गृह प्रशासनले गरेका कामलाई सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्दछु ।’

भ्रष्टाचारको कुनै अनुहार, कुनै दल नहुने भन्दै राज्यले स्थापित गरेका निकायबाट छानबिन भइरहेकोमा त्यसलाई सहयोग गर्न सांसद पौडेलले आग्रह गरे ।

उनले सुन बरामद प्रकरणमा सिआइबीले गरिरहेको छानविनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहयोग गर्न केले रोकेको हो भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘धेरै पहिले सुडान घोटालाको प्रशंग उठ्यो । कहिले वाइडवडी, एनसेल प्रकरण, सेक्युरेटि प्रिन्टिङ प्रेस, ओम्नी जस्ता बिषयहरु पहिला पनि उठ्ने गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा अहिलेको सरकारले खोजी गरेर विषयलाई धन्यवाद दिन नसक्ने ? शरणार्थी प्रकरणमा छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा गृहमन्त्रीलगायतलाई सम्मान गर्न सक्दैनौं ? सुन प्रकरणमा पहिला पनि सररकार र गृहमन्त्री हुनुहुन्थ्यो । सुन आउने जाने भइरहेकै रहेछ तर यही सरकारले खोजेर यो प्रकरण रोक्ने कुरालाई सहयोग गर्न केले रोक्यो ?’