धादिङमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते,६ को अवस्था गम्भीर

२३ श्रावण २०८०

२३ श्रावण, स्वच्छखबर,मलेखु । पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् । छ जना गम्भीर घाइते छन् ।

गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।