संसदमा एमाले सांसदहरुको नाराबाजी, बैठक शुक्रबारसम्मका लागि स्थगित

२४ श्रावण २०८०

२४ श्रावण, स्वच्छखबर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । एक क्वीन्टल सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै एमालेका तर्फबाट सूर्यबहादुर थापाले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए । उनी बोलिरहँदा सत्तापक्षका सांसदहरु उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेपनि एमाले सांसदहरुले अस्वीकार गर्दै वेल घेराउ गरे ।

त्यसपछि सभामुखले शुक्रबार सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले सुन तस्करी प्रकरणबारे छानबिन उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ । तर सरकारल नेपाल भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले अर्को छानबिन समिति बनाउन नहुने अडानमा छ । प्रतिनिधिसभाको बैठक एमालेले साउन १० गतेदेखि लगातार अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेका थिए ।

सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उनको भनाइ थियो । तर एमालेले गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरुद्ध गरेको हो ।