रास्वपाका कार्यकर्तामाथि अनुसन्धान गर्न प्रहरीलाई चितवन प्रशासनको निर्देशन

२४ श्रावण २०८०

२४ श्रावण, स्वच्छखबर, चितवन । जिल्ला प्रशासन कार्यालयल चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा वाकीटकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता देखिएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार सूचना जारी गरी पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

मंगलबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए ।

रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए । प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।