२८० ग्राम सुनसहित पोखरामा एक महिला पक्राउ

२५ श्रावण २०८०

२५ श्रावण, स्वच्छखबर, पोखरा । पोखरामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा आएको ग१ख ९९४४ नम्बरको बसमा सवार थिइन् । बसबाट ओर्लने क्रममा उनको शरीर तलासी गर्दा पहेँलो धातु फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।

गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।