गोदावरी तीनमा डेंगु रोग नियन्त्रणको लागि ‘खोज र नष्ट’ गर अभियान

२५ श्रावण २०८०

२५ श्रावण, स्वच्छखबर, गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर तीनमा डेंगु रोग रोकथाम र नियन्त्रणको लागि अभियान सुरु भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै आजदेखि वडा कार्यलय र स्वास्थ्य कार्यालयको अगुवाइमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

आफ्नो वडामा रहेका नागरिकहरुलाई जनचेतनाको लागि अभियान थालिएको वडाध्यक्ष सानुराजा घिमिरेले बताए । अभियान अन्तर्गत आज घरदैलो कार्यक्रम खहरे ,नहर , मोतीचौर ,गोदावरी कुन्ड लगायत ठाउँबाट शुभारम्भ गरिएको उनी बताउँछन् ।

डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन गरिएको वडाध्यक्ष घिमिरकोे भनाई छ । आफ्नो घर वरपर, कार्यस्थल, सार्वजनिक ठाउँमा पानी जम्न नदिन सतर्क रहनुपर्ने, पानी राख्ने भाँडाहरू, एयरकुलर, फूलदानी, गमलाका पानी सफा गर्ने, पानी भरिन सक्ने ठाउँ वा वस्तुलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न दिन नहुने स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गु भाइरसवाहक एडिज लामखुट्टेको वृद्धि सामान्यतया २५ देखि ३० डिग्री सेल्सियस तापक्रममा हुन्छ । भदौ र असोजमा तापक्रम कम भई २५ देखि ३० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ ।

हाल नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगुका मूख्य लक्षणहरू

  • उच्च ज्वरो आउन
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
  • आँखाको गेडी दुख्नु
  • बेस्सरी टाउको दुख्नु
  • शरीरमा राता बिमिराहरू आउनु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु

    डेंगुबाट बच्ने उपायहरू:

    • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
    • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
    • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
    • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
    • पूरै शरिर ढाक्ने लुगा लगाउने ।
    • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
    • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
    • घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
    • कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

      डेंगुका लक्षणहरू देखिएमा के गर्ने ?

      • स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
      • घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
      • अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।