एमालेको अवरोधमा सत्तापक्षको विरोध, बैठक बुधबारसम्मका लागि स्थगित

२६ श्रावण २०८०

२६ श्रावण, स्वच्छखबर, काठमाडौँ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

शुक्रबारको बैठकमा एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।

त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरेका थिए । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् । एमालेले एक क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० देखि दुवै सदनका बैठक अवरुद्ध गर्दै आएको छ ।