मायादेवी मन्दिरको जिर्णोद्वारका लागि ७ करोड दिने लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको प्रतिबद्धता

२६ श्रावण २०८०

२६ श्रावण, स्वच्छखबर, बुटवल। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरको जीर्णोद्वार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कोषको शुक्रवार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जिर्णोद्वारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।

हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ भने कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेको छ । उपाध्यक्ष लामाले पानी चुहिने र जुनसुकै बेलापनि भत्किन सक्ने जोखिममा रहेको मायादेवी मन्दिरको जिर्णोद्वारको लागि कोष स्थापना गर्ने र त्यसमा सरकारको आर्थिक सहयोग नलिने प्रस्ताव गरेका थिए।

उपाध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराई सहभागी थिए। बैठकमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत भएको छ ।