नमुना काम गरेर देखाउन मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको आग्रह
२७ श्रावण, स्वच्छखबर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभागीय मन्त्रीहरूको कार्यसम्पादन नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भरतपुर वडा नन्बर २२ पटिहानीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्रीले नमुना काम गरेर देखाउनसमेत मन्त्रीहरूलाई आग्रह गरे ।
उनले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी मन्त्रीहरुसँग सम्झौता गरिएको जानकारी दिए। अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर काम गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागिपरेको बताए ।
प्रचण्डले बुढीगण्डकीलगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको भन्दै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए । विदेश जाने युवा र स्वदेशभित्र नै उत्पादन गर्न चाहने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
शुक्रबार साँझ चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर–१४ स्थित आफ्नै निवासमा बसेका छन् । उनी आज शनिबार पनि चितवनमै रहने कार्यक्रम रहेको छ । पारिवारिक भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्ड गृहनगर भरतपुर आएका हुन् । धर्मपत्नी सीता दाहालको मृत्युपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक चितवन आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: