पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु

२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, चितवन । मनहरी। मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरोसँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए।

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए । मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।