हवाईको डढेलोमा मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो,अनुसन्धान सुरु गर्न निर्देशन

२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, अमेरिका । अमेरिकाको हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले बताएका छन् । लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो ।

लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो ।

घर फर्किन अनुमति दिएसँगै आफ्नो वस्तीमा फर्किँदा अधिकांशले आफ्नो घर खरानीमा परिणत भएको बताएका छन् । आफ्नो घर सकुशल पाएका नागरिकले पनि उक्त घटनामा प्रशासनबाट भएका कमजोरीप्रति आक्रोस पोखेका छन् ।नाम नबताउने शर्तमा एक नागरिकले एएफपीसँगको कुराकानीमा भने, “सरकार कहाँ छ ? तिनी (नेताहरू) कहाँ छन् ?”

“यो नालायकी हो । हामी स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्दैनौं किनकि हामीले लुटपाटको बारेमा सुनेका छौं । हामीले जीउनका लागि धेरै आधार गुमाएका छौँ ।”

हवाईका महान्यायाधिवक्ता एनी लोपेजले आफ्नो कार्यालयले यस हप्ता माउई र हवाई टापुमा लागेको डढेलोको समय र यसपछिका लागि महत्वपूर्ण निर्णय लिने र स्थायी नीतिहरूको परीक्षण गर्ने बताएका छन्। उनले आफ्नो विभागले उक्त निष्कर्ष सार्वजनिक गर्ने बताएका छन् ।

माउ काउन्टीका अधिकारीहरूले  मृत्यु हुनेको सङ्ख्या ८० पुर्‍याएका थिए र एक हजार ४१८ जना आपतकालीन आश्रयस्थलमा रहेको बताएका थिए ।

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूजस्तै डढेलोले जनजीवन प्रभावित तुल्याएको छ । क्यानाडामा अझै पनि जङ्गलको व्यापक क्षेत्र डढेलोले जलिरहेको छ र अमेरिकाको दक्षिण–पश्चिममा एक प्रमुख मौसमी घटना उष्ण लहर फैलिरहेको छ ।

यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ । व्यापक डढेलो र बाढीले आतङ्क मच्चाएको छ । वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण हुने विश्वव्यापी तापक्रम वृद्धिले चरम प्रतिकूल मौसममा योगदान पुर्‍याइरहेको बताएका छन् ।