महराजीको बयान लिएर अभियोजन नगर्नुचाहिँ गलत होः प्रधानमन्त्री

३० श्रावण २०८०

३० श्रावण, स्वच्छखबर, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए कारबाही हुने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा महराको नाम मुछिएको र संलग्नता पुष्टि भए कारबाही हुने बताएका हुन् ।

प्रधानमन्त्रीले सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाउँदा आफ्ना मान्छे बनाउन खोज्यो भनेर भनिएको पनि बताए ।

उनले भने, ‘यति ठूलो अनुसन्धान भइरहेको छ । तर, आफ्ना मान्छे बचाउन खोज्यौँ भन्ने रिपोर्ट गलत हो । बयान लिएर अभियोजन नगर्नुचाहिँ गलत हो, मैले प्रस्ट भनेको छु संलग्नताको रिपोर्ट सही हो भने कारबाही अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा दोषी कोही नछुट्ने पनि बताए । उनले नेकपा एमालेसंसद नचले नचलोस् भन्ने मनसायमा देखिएको बताए ।

उनले भने, ‘देउवाजीसहित हामी तीन जना बसेर संसद खोल्ने सहमति भयो । अनि टिआरसी विधेयकमा मिलेर जाने सहमति भयो । तर यहाँबाट बानेश्वर पुग्दा सहमति भंग भयो । यसबाट के देखिन्छ भने एमाले संसद नचले नचलोस् बरु भाँडमा जाओस् भन्ने देखिन्छ ।’