लिग्स कप :लगातार छैटौं खेलमा मेसीको गोल, इन्टर मियामी फाइनलमा

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली इन्टर मियामी लिग्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । मियामीको जितमा कप्तान मेस्सीसहित जोसेफ मार्टिनेज, जोडी अल्बा र डेभिड रुइजले एक–एक गोल गरेका थिए ।

यस्तै, फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काएका थिए । योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेल खेल्दा सबैमा गोल गरेका छन् ।

यो जितसँगै मियामी क्लबको इतिहासमा कुनै पनि प्रतियोगितामा पहिलो पटक उपाधि नजिक पुगेको छ । मियामीले अब मोन्टेरी र नासभिलबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

यसै सिजन अमेरिकन क्लब पुगेका मेसीले लिग कपमा खेलेका ६ वटै खेलमा लगातार गोल गरेका हुन् । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

सन् २०१८ मा स्थापना भएको इन्टर मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।