कोशी प्रदेशमा कांग्रेसका गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त

३१ श्रावण २०८०

३१ श्रावण, स्वच्छखबर, विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

प्रदेशसभाको बैठक भदौ १ गतेलाई बोलाइएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री भइसकेका छन् ।