डुंगा दुर्घटना हुँदा पश्चिम अफ्रिकामा ६० आप्रवासीको मृत्यु,३८ जनाको उद्धार

३२ श्रावण २०८०

३२ श्रावण, स्वच्छखबर, अफ्रिका। पश्चिम अफ्रिकाको केप भर्डे टापुको तट पारि आप्रवासीहरू बोकेको डुङ्गा फेला परेको छ । जसमा सवार ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याएको जनाइएको छ ।

एक महिनाभन्दा बढी समयदेखि समुद्रमा रहेको डुङ्गामा सवार प्रायः सबै सेनेगलका भएको अनुमान गरिएको छ । यस घटनापछि केप भर्डेका अधिकारीहरूले थप मानवीय क्षति रोक्नका लागि आप्रवासनबारे विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार डुङ्गा पहिलो पटक सोमबार फेला परेको हो । प्रारम्भिक प्रतिवेदनमा डुङ्गा डुबेको सङ्केत गरिएको थियो तर पछि यो तैरिरहेको अवस्थामा फेला परेको जनाइएको थियो ।

काठको एक विशेष किसिमको डुङ्गा केप भर्डेमा अवस्थित सल टापुभन्दा करिब ३२० किलोमिटर पर स्पेनी माछा मार्ने डुङ्गामा सवारहरूले देखेका थिए। प्रहरीका अनुसार उनीहरूले नै डुङ्गाबारे अधिकारीहरूलाई जानकारी दिएका हुन् ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का प्रवक्ताका अनुसार बाँच्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूहका चार जना बालबालिका छन् ।

सेनेगलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा गत जुलाई १० मा १०१ जना यात्रु बोकेर देशबाट प्रस्थान गरेको जनाइएको छ। मन्त्रालयले आफू केप भर्डेका अधिकारीहरूसँग सम्पर्कमा रहेको र पीडितहरूलाई स्वदेश फर्काउनका लागि पहल गरिरहेको जनाएको छ।