ब्याडमिन्टन एसिया क्षेत्रीय जुनियर प्रतियोगिता शुक्रबारदेखि हुने

३२ श्रावण २०८०

३२ श्रावण, स्वच्छखबर,काठमाडौं ।  ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप शुक्रबारदेखि हुने भएको छ ।
अल्पविकसित राष्ट्रहरूमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले ब्याडमिन्टन एसियाले सञ्चालन गर्ने प्रतियोगितामा यु–१५ र यु–१७ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । यसमा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरी पाँच–पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तान गरी छ राष्ट्रका करिब ५२ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

छात्र तथा छात्रातर्फ समान २६–२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक राष्ट्रबाट आठ–आठ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकको हैसियतले नेपाली खेलाडीले एक विधामा तीन खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट दुई खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

ब्याडमिन्टन एसियाका विकास व्यवस्थापक थानाबालन अरिकृष्णनले एसियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के–कस्ता कार्यक्रम हुनुपर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।