श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई ट्रेड युनियन कांग्रेसको आग्रह

१ भाद्र, स्वच्छखबर, काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
“नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुन्छ”, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले चिया क्षेत्रमा गरिएको न्यूनतम तलब/ज्याला भेद्भाव गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले दुई/दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान विपरीत बजारको मूल्य वृद्धिलाई नजरअन्दाज गरेर सरकारले एकलौटी ढङ्गले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोप्रति ट्रेड युनियन कांग्रेसले विमती जनाएको छ । महासचिव राईले सरकारले विगतमा सम्पूर्ण श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने, सामाजिक सुरक्षा कोषमा सङ्लग्न नगराउने गरेको तोकिएको पाइएकाले पारिश्रमिक अनिवार्य रुपमा लागू गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्: