पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

२ भाद्र २०८०

२ भाद्र, स्वच्छखबर, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । उत्कृष्ट पाँच पुस्तकमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य अटाएका छन् ।

अब यी पाँच मध्येबाट एउटा पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो ।

२०७९ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची यसअघि सार्वजनिक गरिएको थियो । विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको हो ।

पद्मश्री पुरस्कारको संक्षिप्त सूचीमा परेकामध्ये इजोरिया, ऐठन, मफलर र शून्यको मूल्य शिलापत्रको वर्षपुस्तक २०७९ मा पनि छानिएका थिए ।