भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा पनि मूल्य बढ्ने

३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो ।

भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ ।

यसअघि भारतीय प्याज अरू निर्यातकर्ता देशहरू पाकिस्तान, चीन र इजिप्टको प्याज भन्दा सस्तो थियो । तर अब महँगो भएकोले निर्यात कम हुने र स्थानीय बजारमा भाउ बढ्नबाट रोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् ।