‘हिलरी’आँधीका कारण साढे दुई करोडभन्दा धेरै मानिस बाढीको जोखिममा

४ भाद्र २०८०

४ भाद्र, स्वच्छखबर, मेक्सिको । मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएकाे हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । यो आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ । तर  क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।

यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ । मेक्सिकोमा यही आँधीले व्यापक क्षति पुर्‍याइसकेको छ ।

तीव्र हावासहित ठूलो वर्षा भएका कारण बाढी र पहिरोले मेक्सिकोलाई अस्तव्यस्त बनाएको छ । आँधीले प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको खबरमा उल्लेख छ ।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दुई करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा परेका  छन् ।