ललिता निवास प्रकरण :पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले लियो बयान

४ भाद्र २०८०

४ भाद्र, स्वच्छखबर, काठमाडौं । बालुवाटारस्थित ललितानिवास प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वप्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै तीव्र आलोचना भएपछि बयान लिएको हो ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्‌बाट भएका निर्णयमा संलग्न भएकामाथि सीआईबीले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागेको थियो । दुवै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका घटक हुन् ।

नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, मन्त्रिपरिषद्‌बाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सीआईबीका अधिकारीहरूले लिएपछि प्रतिवेदन बुझाउनुअघि बयान लिएको हो ।