पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

५ भाद्र २०८०

५ भाद्र, स्वच्छखबर, थाइल्याण्ड ।थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय मंगलबार सुनाएको हो ।

सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्याइएको अदालतले जनाएको छ ।

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेल परेका छन् ।
पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट काराबासको सजाय भएको छ ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्ने भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।