फ्रान्सेली राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न नाइजरका विद्रोही नेताद्धारा निर्देशन

९ भाद्र २०८०

९ भाद्र, स्वच्छखबर, नाइजर । नाइजरमा सैन्य कु गरेर सत्तामा आएका विद्रोही नेता जनरल चियानीले फ्रान्सेली राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन दिएका छन् ।

सैन्य विद्रोहपछि दुई देश बीचको सम्बन्ध बिग्रिएपछि विद्रोही चियानीले राजदूतलाई आफ्नै देशमा फिर्ता हुन निर्देशन दिएका हुन् ।

नाइजरको पूर्व औपनिवेशिक शक्ति राष्ट्र फ्रान्सले आफ्ना राजदूतलाई देश छोड्न निर्देशन दिने अधिकार कु गर्ने नेतामा नभएको बताएको छ ।

साथै पेरिसले गत जुलाईमा भएको सैन्य कुको विरोध जनाउँदै नाइजरका अपदस्त राष्ट्रपति मोहम्मद बाजुमलाई पदस्थापन गर्नुपर्ने बताएको छ ।

फ्रेन्च राजदूतको निस्कासनको निर्णय जुन्ता सरकारका विदेशमन्त्रीले गरेका हुन् । जुन्ताले शुक्रबार गरेको ४८ घन्टे निर्देशन विरुद्ध फ्रान्सले कडा प्रतिक्रिया दिइसकेको छ । साथै फ्रान्स विरुद्ध भएको शत्रुतापूर्व व्यवहार प्रदर्शनको श्रृखला नै शुरु भएको भन्दै विरोध जनाएको छ ।