रोनाल्डोको ह्याट्रिकमा साउदी प्रो लिगमा अल नासरको फराकिलो जीत

९ भाद्र २०८०

९ भाद्र, स्वच्छखबर, काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा अल नासरले साउदी प्रो लिगमा फराकिलो जीत निकालेको छ । शुक्रबार राति भएको खेलमा अल फातेहलाई ५-० गोलले पराजीत गर्दै अल नासरले लिगमा पहिलो जीत निकालेको हो ।

प्रिन्स अब्दुल्लाह बिन जालावाल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरलाई जीत दिलाउन रोनाल्डोले तीन गोल गर्दा मानेले दुई गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा रोनाल्डोको पासमा मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा अल घानामको पासमा रोनाल्डोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए ।

५८ औं मिनेटमा घारेबको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा अल नासर फराकिलो जीततर्फ अगाडि बढेको थियो । ८१ औं मिनेटमा घारेबको पासमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ४-० गोलको अग्रता दिलाए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर अल नासरलाई ५-० गोलको फराकिलो जीत दिलाएका हुन् । जीतसँगै अल नासर ३ खेलबाट ३ अंक जोड्दै लिगको दसौं स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको अल फातेह आठौँ स्थानमा रहेको छ ।