सभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने जस्तो जात्रा दुनियाँमा कहीँ हुँदैनः अध्यक्ष ओली

१० भाद्र २०८०

१० भाद्र, स्वच्छखबर, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनले तमाशा गरेको बताएका छन् । आइतबार विराटनगरमा पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय गुज्रिएपछि दिँदै नदिएको मत सच्याउने भनेर सभाध्यक्षलाई मतदान गराई गठबन्धनले तमासा देखाएको बताएका हुन् ।

सभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने जस्तो जात्रा दुनियाँमा कहीँ नभएको समेत उनले बताए । उनले गठबन्धनको ध्यान सत्ता कब्जा गर्ने र एमालेलाई कमजोर बनाउनेतिर मात्रै रहेको बताए ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका दलहरू ‘म्युजिकल चेयर’का खेलाडी जत्तिको पनि नभएको टिप्पणी गरे । उनले भने, ‘यिनीहरू म्युजिकल चेयरका खेलाडीभन्दा माथिका होइनन् । म्युजिकल चेयरमा जस्तो कुदेर झ्याप्प बस्ने, बसेपछि विजेता घोषित गरी हाल्ने र विजेता भएँ भनेर हात उठाउने काम मात्र यिनीहरूले गर्छन् ।’

उनले संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ गरेर सरकार बनाउने अभ्यास कोशी प्रदेशबाट सुरू भएको बताए । अध्यक्ष ओलीले अहिलेको सरकारले जातीय द्वन्द्व मच्चाउन खोजेको पनि आरोप लगाए ।

कोशी प्रदेश नामकरणको विषय निकाल्दै ओलीले अहिलेकै सत्तारुढ दलका कार्यकर्ताहरू ढुंगामुढा गर्दै बाहिर निस्केको बताए । पहिला आफूहरू संविधानअनुसार चल्दा संविधान मिच्यो भनेर ‘स्याल हुइँया’ गर्नेहरू अहिले चुइँक्क पनि नबोलेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।