ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते

११ भाद्र २०८०, सोमबार ०३:०४

११ भाद्र, स्वच्छखबर,रोमानिया।  दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका गृह मन्त्रालयले जनाइएको छ ।

पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

मन्त्रालयले ३९ जना अग्निनियन्त्रक, दुई जना प्रहरी र दुई जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ ।

सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका चार जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको दुईवटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.