जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको विधेयकको प्रावधान स्वीकार्य छैनः गगन थापा

१२ भाद्र २०८०

१२ भाद्र, स्वच्छखबर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदलाई हेपेर गोलमोटल रूपमा नेपाल ऐनलाई संशोधन गर्न अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको प्रावधान स्वीकार्य नहुने बताएका हुन् । महामन्त्री थापाले यसअघिको सरकारले लेखेको ड्राफ्टको भारी नबोक्न कानुन मन्त्रीलाई सुझाव दिए।

उनले संसदलाई पेलेर बहुमतका आधारमा विधेयकलाई अघि बढाउन खोजे नयाँ ढंगले कुराको सामनाका लागि तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

उनले भने, ‘म यहीँबाट प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु यहाँ आएका सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’

त्यस्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने तर्क गरे । उनले फौजदारी प्रकृतिका घटनाहरूलाई पनि विधेयकमा हल्का ढंगले राखिएको भन्दै आपत्ति जनाए।

त्यसैगरी कांग्रेस मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने बताए। विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो।