ग्रान्ट शाप्स बेलायतको रक्षामन्त्रीमा नियुक्त

१४ भाद्र २०८०

१४ भाद्र, स्वच्छखबर, बेलायत। बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । अठार वर्षदेखि संसद सदस्य रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् ।

नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् । त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गररेको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।