सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ : रवि लामिछाने

१९ श्रावण २०८०

१९ साउन, स्वच्छखबर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै उनले सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए ।

‘यसमा संगठित अपराध पनि जोडियो । सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो । अन्तरदेशीय अपराध पनि यहाँ देखियो । मिलेमतो, संरक्षण जस्ता कयौँ कसूरहरु यसमा देखिए,’ सभापति लामिछानेले भने, ‘अनुसन्धान कसले गर्ने रु के कारणले यत्रो दिनसम्म रोकियो रु यो गम्भिर विषय भयो ।’

उनले यो प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘म अनुरोध गर्न चाहाछु, छानबिन अगाडी बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्‍यो । जाँचबुझ आयोगको आवश्यकता छ, छैन । छलफलका लागि साथीहरुलाई आग्रह गर्न चाहन्छु । आवश्यकता छ जस्तो मलाई लाग्छ ।’

भेपमा सुन तस्करी भएको घटनामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए ।

‘अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ । सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन । यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ’, उनले भने ।

सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्‍बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै उनले पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।