लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन निर्माण सुरु

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर,लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण सुरु गरेको छ । देवदहमा रहेको करिब एक सय बिघा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ ।

गुरुयोजनाअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले सात करोड १६ लाख २९ हजार रुपैयाँको लागतमा दुईतले शैक्षिक एवं प्रशासनिक भवन निर्माण सुरु गरेको हो । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयका लागि प्राप्त जग्गामा गुरुयोजना अनुरुपका संरचना निर्माण थालिएको बताए ।

भवनको आइतबार प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, इन्टरनेसनल बुद्धिष्ट कन्फडरेसन अध्यक्ष भन्ते धम्मपिया र अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्षका भिक्षु सोभनले संयुक्त रुपमा शिलान्यास गरे । सो अवसरमा प्रमुख अतिथि विश्वकर्माले विश्वविद्यालयको स्थापनाले देवदहको पुरातत्वको अध्ययन अनुसन्धान तथा स्थानीयको जीवनोपयोगी शिक्षा प्रदानमा सफलता मिल्ने बताए ।

बौद्ध धर्म दर्शनको विकासमा रहेर विश्वविद्यालयले देवदहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । सांसद विश्वकर्माले विश्वविद्यालयको विकासमा देवदहवासीले सहयोगी भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नरेशमान बज्राचार्यले विश्वविद्यालयले बुद्धको मावली क्षेत्रमा बौद्ध शिक्षा सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गरे । विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तिमा आफ्नो पनि योगदान रहेको भन्दै उनले शैक्षिक गुरुयोजनाअन्तर्गत काम गर्दै जानुपर्ने बताए ।

त्यस्तै देवदह नगरपालिकाका नगरप्रमुख धुव्र खरेलले देवदहमा विश्वविद्यालय स्थापना हुँदा नगरको विकासमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले विश्वविद्यालय स्थापनाले देवदहवासीले आफ्नै नगरमा उच्च शिक्षा हासिल गर्ने मौका पाएको बताए ।

विश्वविद्यालयले हाल देवदहमा विकास अध्ययन तथा प्रयोगिक विज्ञान सङ्कायअन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । विश्वविद्यालयले विस्तृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य निरन्तर गरिरहने योजना रहेको जनाएको छ ।

डिन कार्यालयअन्तर्गत चालु शैक्षिक सत्रदेखि स्नातक तहमा विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यो कार्यक्रम सञ्चालनपछि देवदहमै स्नातक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न सक्नेछन् ।