संसद् बैठक बस्दै नबसी मंगलबार तीन बजेसम्मका लागि स्थगित

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल निष्कर्षविहीन भएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको जानकारी दिए । यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रमुख तीन दलबीच सहमति नजुटेपछि अपराह्न ४ बजेका लागि सारिएको थियो ।

तर, सभामुख घिमिरेको कार्यकक्षमा बसेको दोस्रो चरणको बैठकमा पनि प्रमुख तीन दलबीच सहमति जुट्न सकेन । सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

दोस्रो चरणको बैठकमा पनि एमालेले सुन तस्करीबारे अनुसन्धानका लागि छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम राखेको छ । एमालेकै अवरोधका कारण पछिल्लो दुई सातायता संघीय संसदका दुवै सदनको बैठक बस्न सकेको छैन ।