नागढुङ्गा आपत्कालीन सुरुङमार्गको ‘ब्रेक थ्रु’,आगामी ४ महिनामा मुख्य सुरुङ पनि छिचोलिने

२२ श्रावण २०८०

२२ श्रावण, स्वच्छखबर, काठमाडौँ । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत ‘रेस्क्यू टनेल’ को ‘ब्रेक थ्रु’ भएको छ । सोमबार सुरुङमार्गको ‘रेस्क्यू टनेल’ को ’ब्रेक थ्रु’ भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो । सडक विभागका अनुसार अब आपत्कालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने छ । मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गर्ने दाबी आयोजनाको छ ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ ।