कमजोरीप्रति जनतासँग आत्मालोचित हुन नेता कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारबाट जनतामा आशा पलाएको बताएका छन् । शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारको कामबाट जनतामा आशाको सञ्चार भएको बताएका हुन् ।

प्रधानमन्त्रीले अहिले पनि देशमा अनियमिता भ्रष्टाचार बाँकी रहेकाले यसलाई अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताए । माओवादीले सरकारमा हुँदा गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्ने र जनतासँग बढी दूरी कम गर्न सबै नेता तथा कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् ।

उनले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने,’जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ । कमरेड लेनिनले भनेजस्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।’

उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । प्रधानमन्त्रीले तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।