डेङ्गु संक्रमितको संख्या २१ हजार नाघ्यो,१३ को निधन,सुनसरीमा मात्र ११ हजार संक्रमित

१६ भाद्र २०८०, शनिबार १४:५२

१६ भाद्र, स्वच्छखबर, काठमाडौँ । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेङ्गुका बिरामी भेटिएका छन् ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.