माओवादीको रुपान्तरण अभियान,’‘जनताको सुख-दुःखको साथी माओवादी हुनैपर्छ”

१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, गोदावरी । झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए ।

माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै आज अभियानको उद्घाटन भएको जनाएको छ । जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् । अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ ।

सडक मर्मत गर्ने, स्थानीयसँग अन्तक्र्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ । यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ ।

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ । माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन् । यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

यसैक्रममा, गोदावरी वडा नं. ३ बसपार्क क्षेत्रमा जनतासंग माओवादी : विशेष रुपान्तरण अभियान अन्तर्गत झन्डोतोलन र बृहत सरसफाइ कार्यक्रममा सहभागी हुदैं बागमती प्रदेशका इञ्चार्जसमेत रहेका उपमहासचिव जनार्दन शर्माले ‘जनताको सुख–दुःखको साथी माओवादी हुनैपर्ने उल्लेख गरे । जनताले चाहेको अधिकार, जनमुखी शासन प्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको उनको भनाई छ ।

उपमहासचिव शर्माले वर्तमान सरकारले देश र जनताको पक्षमा इमान्दार भएर काम गरिरहेको बताउँदै भ्रष्टाचारमा दोषी देखिए माओवादीका नेता तथा कार्यकर्तालाई पनि कारबाहीको दायरामा ल्याउनैपर्ने समेत उल्लेख गरे। रुपान्तरित हुनका लागि माओवादी जनताको घरदैलोमा आएको उनी बताउँछन् ।

इन्चार्ज शर्माले भने, “प्रदेशका सम्पूर्ण वडामा आज एकैसाथ अभियानको शुभारम्भ भएको छ । पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुनेछ ।” जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ ।

अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको इन्चार्ज शर्माले बताए । यस्तै कार्यक्रममा इन्चार्ज शर्माले ने.क.पा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका अनेमा संघकी अध्यक्ष करुणा थापा र युवा समाजसेवि हरिकृष्ण तामाङलाई पार्टीमा स्वागत गरेका थिए ।

सरसफाइबाट सुरु भयो अभियान

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ । गोदावरी नगरपालिका–३ बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको छ ।

त्यसैगरी, गोदावरीका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरुआत गरेको छ । जनताको घर–घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्नेछन् ।