रोनाल्डो चम्किदा साउदी प्रो लिगमा अल नासरको फराकिलो जीत

१७ भाद्र २०८०

१७ भाद्र, स्वच्छखबर, काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनको मद्दतमा अल नासरले साउदी प्रो लिगमा फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल हाजेमलाई ५-१ गोलले हराउँदै अल नासरले लिगमा लगातार तेस्रो जीत निकालेको हो ।

भएको खेलमा अल नासरलाई जीत दिलाउन अब्दुलराहमन घारेब, अब्दुलाह अल्खाइबारी, ओटाभियो, क्रिस्टियानो रोनाल्डो र साडियो मानेले समान एक-एक गोल गरे । अल हाजेमको लागि मोहम्मद बाडामोसीले सान्तवना गोल गरे । खेलको २३ औं मिनेटमा रोनाल्डोको पासमा घारेबले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयको आठौँ मिनेटमा अल्खाइबारीले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाएका थिए । ४७ औं मिनेटमा बाडामोसीले गोल गर्दै अल हाजेमलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ५७ औं मिनेटमा रोनाल्डोको पासमा ओटाभियोले गोल गर्दै अल नासरलाई ३-१ गोलको अग्रता दिलाए ।

६८ औं मिनेटमा घारेबको पासमा रोनाल्डोले गोल गर्दा अल नासर फराकिलो जीततर्फ अगाडि बढेको थियो । यस गोलसँगै रोनाल्डोले खेल जीवनमा ८ सय ५० गोल पूरा गरेका छन् । यस्तै ७८ औं मिनेटमा घारेबको पासमा मानेले गोल गर्दै अल नासरलाई ५-१ गोलको जीत दिलाएका हुन् ।

जीतसँगै अल नासर पाँच खेलबाट ९ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको अल हाजेम १८ औं स्थानमा रहेको छ ।