प्रहरीद्वारा पहिचान नखुलेका ७४ शव र हराएका ५ हजार व्यक्तिको विवरण सार्वजनिक

१७ भाद्र २०८०

१७ भाद्र, स्वच्छखबर, काठमाडौँ । नेपाल प्रहरीले लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ । आइतबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरणसहितको वेबसाइट udb.nepalpolice.gov.np  सार्वजनिक गरेका हुन्।

वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७ सय ७६ जनाको विवरण राखिएको छ । वेबसाइट उद्घटन गर्दै महानिरीक्षक कुँवरले निर्माण भएको वेबसाइटको सुरक्षा गर्दै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेवसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिएका थिए ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइयो ।

पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण हेर्न याहाँ क्लिक गर्नुस्