आईसीसी महिला टी–२० विश्वकपमा नेपालको लगातार चौथो जित

१८ भाद्र २०८०

१८ भाद्र, स्वच्छखबर,  काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्यो । नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् ।

इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ ।

यूएईले अहिले बहराइनसँग खेलिरहेको छ । सन् २०२४ मा हुने महिला विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।