चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा घोषणा

१८ भाद्र २०८०

१८ भाद्र, स्वच्छखबर, मकवानपुर । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी ९छोनाम०को अवसरमा वाग्मती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । वाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।

कानुनमन्त्री श्रेष्ठका अनुसार बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ–५, काठमाडौंकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयको श्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।